Saturday, August 18, 2012

गजल


“आमा सानो सानो कुरामा पनि रुनु हुन्छ । बाबा कहिल्यै रुनु हुन्न । रहेक पल एउटा उर्जाशिल जिन्दगी बाँच्नु हुन्छ । तर एक दिन मेरो बाबाको आँखाभरी आँशु देखेँ मैँले । आठ बर्ष अगाडी उहाँ घुम्न जानु भएको थियो । खर्च सकिएछ । २ दिन देखी भोकै पर्नु भएछ । मेरो डेरामा पुग्ने बित्तिकै भन्नु भयो “अरु कुरा पछी गरौँला । लौ न केही बनाइ हाल । मैँले हिजो बिहान देखि केही खाएको छैन ।” यसो भन्दा बाबाको आँखामा आँशु थियो । खसेन भैँमा । तर हजारौँ पटक मेरो आँखाबाट आँशु खसेको छ बाबाको त्यो नझरेको आँशु सम्झिँदा ! मेरो बाबा प्रति समर्पित यो गजल ! आज मुख हेर्न त पुग्न सकिन फोनबाटै हेरियो ! यति भन्छु बाबा ! म तपाईँको आदर्शलाई पछ्याइरहने छु सदैब !”

गजल
धेरै सोचेँ त्यो रुपमा लुक्ने मन कस्तो होला !
मौनतामा बोल्ने आँखा आफ्नोपन कस्तो होला !

कठिन छ बुझ्न बाबा गाह्रो चिन्न स्वभाव त्यो
अदृश्य त्यो हृदयमा माया झन् कस्तो होला !

जति कष्ट भए पनि थाकेँ भन्न नसक्ने त्यो  
मेरै जस्तो हो कि भिन्न, साँच्चै तन कस्तो होला !

शब्दै पिच्छे उर्जा बोल्छ लाचारीको खेदो गर्दै
आदर्शले भरिएको भित्री धन कस्तो होला !

रोए पनि आँखाबाट आँशु झर्न मान्दैन त्यो !
बाबा बन्न सजिलो या गाह्रो भन कस्तो होला !

मधुश्री
१ भाद्र २०६९

Thursday, August 2, 2012

गजल



यो मनको रोग निको पार्ने तिमी थियौ
सारा दुःख मुस्कानले झार्ने तिमी थियौ

ताते-ताते गर्दै बामे सर्दा स्वप्ना बुन्थेँ
बुढ्यौलीको जंगार यो तार्ने तिमी थियौ

तिम्रो जितमा नै हार्दै गएँ खुशी हुँदै
कुनै दिन मेरो लागि हार्ने तिमी थियौ

कता गए जून तारा साछी मेरा सारा
ममताको कोठेबारी बार्ने तिमी थियौ

गुँड छोडी उडी गयौ सँगै उडे स्वप्ना
बिछोडको दिर्घरोग सार्ने तिमी थियौ

आज किन भन्छौ आमा खायौ कि भोकै छौ ?
भोक प्यास खोसी ज्यूँदै मार्ने तिमी थियौ !

मधुश्री
१७ सावन २०६९

Wednesday, April 18, 2012

मधु वाणी: जीवन


जीवन


हत्केला माथि जीवन राखी कसेर पटुकी
पसिना पोख्दै भरोषा बोक्दै साहस बटुली
उकाली चढ्दै ओराली झर्दै जंगल चाहर्दै
जरुवा खोज्दै मुस्किल रोज्दै अभाव स्याहर्दै

कहिले घाम हिँउँमा बग्थ्यो मेटाई प्यास त्यो
जम्दथ्यो मुटु जमेझैँ हिउँ कहिले आश त्यो
हिड्नुथ्यो फेरी हिड्नुको अर्को बिकल्प थिएन
रोकिनु मृत्यु सहनु थियो स्वीकार्य थिएन

कुर्कुच्चा फुटी रगत बग्दा काँडाले कोतर्दा
दुख्नुको पीडा दुखेर रुन्थ्यो मनले हपार्दा
चिम्लँदै आँखा उषाको लाली मनले हेर्दथ्यो
औँशीको कालो रातमा दियो आशाको बाल्दथ्यो

खेल्दथ्यो कुरा मनमा एकै बिजय हुनुथ्यो
हाँस्दथ्यो सुख्खा ओँठमा हाँसो शीखर छुनुथ्यो
जित्नुथ्यो मन जितेर आफ्नै पुरानो सोचाई
उड्नुथ्यो हावा उडे झैँ हल्का सिमल भुवा भै

मधुश्री
७ बैशाख २०६९

Tuesday, March 27, 2012

गजल

जति रुन्न भने पनि एकान्तमा रुन्छ मन
पीडा दिँदा अरुलाई छिया-छिया हुन्छ मन

गजल


लानु छैन केही सबै छोडी जाने
एकसरो सेतो ओड्ने ओडी जाने